नेकपाभित्र अन्तरपार्टी निर्देशन–५ जारी


  • Jaynepalnews
  • मङ्लबार, भदौ ३०, २०७७

३० भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–५ जारी गरेको छ ।

नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टी मातहतका सबै कमिटीलाई अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको बताए । यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो ।

पार्टीभित्र देखिएका समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टी स्थायी कमिटी बैठकले सुझावसहित पारित गरेको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो । अन्तरपार्टी निर्देशनमा पार्टीलाई जीवन्त बनाउने कुरा समेटिएका छन् ।

अन्तरपार्टी निर्देशन– ५ मा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषय समेटिएका छन् ।

यस्तै अन्तरपार्टी निर्देशन – ५ मा सरकारका कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाइने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाइने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनःरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्नेलगायत छन् ।

दुई अध्यक्षले स्थायी कमिटीमा पार्टीलाई पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउन पेश गरेको प्रस्ताव  

सहि र समयोचित सिद्धान्त, विचार र नीतिको  मार्गदर्शनमा अघि बढेको र अतुलनीय त्याग एवम् बलिदानको जगमा निर्माण गरिको  नेपाल कम्युनिस्ट पार्टी(नेकपा ) को शक्ति र सामर्थ्यलाई ठिक ढंगले बुझ्न र व्यक्तिगत हितलाई पार्टीगत हितको मातहतमा राख्न नसक्दा अन्तरविरोध देखापर्दै, हुर्किदै र कटुतापूर्ण बस्दै गयो ।

संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृति झाँगिदै जाँदा पद्धतिहिनता, गुटबन्दि, अराजकता र अनुशासनहिनता फैलिदै गयो । पार्टी भित्र उत्पन्न अन्तरविरोधहरु ठिक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रवन्ध उल्लङ्घन हुँदैगयो र आन्तरिक एकता कमजोर भयो ।

१. सम्बन्धित नेता, कार्यकर्ता तथा सदस्यहरुलाई आफ्नो गल्ती, कमजोरीहरुप्रति आत्म समिक्षक र आत्मालोचित हुँदै भविष्यमा यस प्रकरणको गल्ती तथा कमि कमजोरीहरु दोहोरिन नदिन निर्देशित गर्दछ । अतितमुखी होइन भविष्यमुखी भएर वर्तमान चुनैतिहरु विवसता नगरी त्यसलाई सहि निस्कर्ष तथा योजना सहित पुरा गरेर, जनताले सुम्पिएको जिम्मेवारी पुरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने संकल्प गर्दछ ।

२. विगतका अन्तरविरोध एवम् अनुभवहरुबाट शिक्षा लिन र पार्टी एकताको मर्म एवम् भावना, दुई पार्टी बीच एकता गर्दाका सहमति र संस्थागत रुपमा तय गरिएका नीति,विचार, विधि तथा पद्धति अनुशरण एवम् कार्यान्वयन गर्दै अघि बढ्न सम्बन्धित सबैलाई निर्देशित गर्दछ । सचिवालय स्थायी कमिटि, केन्द्रिय कमिटि लगायत समस्त पार्टी पद्धतिलाई विधि, पद्धति र संस्थागत निर्णयको आधारमा सम्पन्न गर्ने । कार्यन्वयन हुन बाँकी रहेका विगतका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
कम्युनिष्ट पार्टीको जीवन, विचार र विधिमा आधारित हुन्छ र सिर्जित समस्याको समाधान पनि संस्थागत प्रणाली अन्तर्गत खोज्नुपर्दछ भन्ने मान्यतालाई व्यवहारमा स्थापित गर्ने दृढ अठोट गर्दछ ।

३. आन्तरिक विवादलाई कटुतपूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट-गुटका अलग अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप-प्रत्यारोपमा उत्रीने जस्ता गलत अभ्यासहरुलाई कडाईका साथ नियन्त्रण गर्न र पार्टीलाई अनुशासित र पार्टी भित्रको बहस-विवादलाई विधि सम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ ।

४. समग्र पार्टी र तिनै तहको सरकारको काममा समेत फैलिदै गएको गुटबन्दिको असरलाई विधि, पद्धति, र संस्थागत निर्णयको प्रभावकारी कार्यन्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहिनता एवम् गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्न निर्णय गर्दछ । पार्टीको नीति, नेता र कार्यकर्ता विरूद्ध सामाजिकरुपमा जथाभावी लेख्ने र पार्टी हित विपरित गतिविधी गर्ने प्रवृतिलाई कडाईकासाथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बन्धित सबैलाई निर्देशित गरिन्छ  ।

५. विगतमा जस्तै यसपटक पनि पार्टी भित्र उत्पन्न अन्तरविरोधहरुलाई नीति र विधिको आलोकमा समाधान गर्ने र चुनौतीहरुलाई एकताबद्ध भएर सामना गर्ने निर्णय गर्दछ । अन्त:पार्टी संघर्षको कठिन र जटिल मोडबाट गुज्रिएको पार्टिलाई सम्हाल्ने र सुरक्षित तबरले अगाडी बढाउने निर्णय गर्दछ । पार्टीमा नयाँ स्तरमा एकता कायम गर्दिया समस्त पार्टीपट्टि तथा आम समुदायमा एकताको सन्देश सम्प्रेषण गर्दछ । पार्टीभित्रको  अन्तरबिरोधले गर्दा हुन गएको क्षतिलाई पारस्परिकविश्वास , सम्मान, एकता र समझदारीका साथ पूर्ति गर्ने संकल्प गर्दछ । स्वास्थ्य एवम् गतिशील पार्टीका लागि अस्वस्थ्य बहस र गुटगत अभ्यास खतरनाक शत्रु जस्तै हो र स्थापित सिधान्त, नीति र विधिको जगमा उभिएको एकतावद्ध पार्टी अग्रगति र प्रगतिको आधार हो भन्ने वास्तविकतालाई राम्रो संग स्थापित गर्ने निर्णय गर्दछ ।

६. पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न, विधि तथा पद्धतीस्थापित गर्न र नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न बिगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाईका साथ लागु गर्ने निर्णय गर्दछ ।
सबैलाई विशेषत: जिम्मेवार कमरेडहरुलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology