ओली–प्रचण्डवीच छलफल, आज कांग्रेससँग छलफल हुँदै


  • Jaynepalnews
  • बिहिबार, अशोज १, २०७७

१असोज, काठमाडौं । झण्डै दुई तिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको आधा समय व्यतीत हुँदा पनि संविधानतः गठन हुनुपर्ने संरचनाहरुलाई चलायमान बनाउन सकेको छैन । अहिलेसम्म संवैधानिक आयोगहरुमा ४८ पदहरु रिक्त छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आदिवासी जनजाति, मधेसीलगायतको पहिचानको मुद्दामा अरुचि राख्ने गरेको आरोप लाग्ने गरेको छ । यही आरोपलाई बल मिल्ने गरी उनले अहिलेसम्म संविधानतः बन्नुपर्ने आदिवासी जनजाति आयोग लगायतलाई पूर्णता दिने तत्परता देखाएका छैनन् ।

अहिलेसम्म रिक्त रहेका संवैधानिक आयोगहरुमा आदिवासी जनजाति आयोग, महिला आयोग र दलित आयोगमा ५र५ जना पदाधिकारीहरु चयन गर्न बाँकी छ । भाषा आयोगमा ६ पदाधिकारी खाली छन् ।

त्यसैगरी मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, समावेसी आयोग र वित्त आयोगमा ४र४ जना पदाधिकारीहरु रिक्त छन् ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद नै रिक्त भइसकेको छ । यो सहित अख्तियारमा ३ जना पदाधिकारी नियुक्त गर्नुपर्ने छ । त्यस्तै निर्वाचन आयोगमा दुईजना पदाधिकारी नियुक्त गर्नुपर्नेछ ।

यसैवीच बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डवीच संवैधानिक आयोगहरुको नियुक्तिबारे छलफल भएको छ । त्यसको भोलिपल्ट आज विहीबार नेपाली कांग्रेससँग नेकपाका नेताहरुले छलफल गर्ने कार्यसूची तय भएको छ ।

संवैधानिक आयोगहरुमा ४० जनाको ठूलो संख्या पूर्ति गर्नुपर्ने भएकाले यसमा सत्तापक्ष र प्रतिपक्षवीच अहिलेसम्म भागवण्डा मिल्न सकिरहेको छैन । सत्तापक्ष र प्रतिपक्षमात्र हैन, स्वयं सत्तारुढ नेकपाभित्रै भागवण्डा मिलेको छैन ।

विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कसलाई लैजाने भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । अख्तियारमा पूर्वसचिव प्रेम राईको चर्चा छ । साथै सांसद अपहरण प्रकरणमा विवादमा तानिएका पूर्वआइजीपी सर्वेन्द्र खनालको समेत नाम चर्चामा आउने गरेको छ ।

विगतमा लोकमानसिंह कार्कीजस्तो व्यक्तिलाई सर्वसम्मत निर्णय गरेर अख्तियारको साँचो जिम्मा लगाउने यिनै शीर्षनेताहरु अहिले फेरि आफू अनुकूल हुने नयाँ पात्रको खोजीमा जुटेका छन् ।

पछिल्लो समयमा देखिएको विकृति के छ भने निजामती सेवाबाट अवकाश पाइसकेका पेन्सनधारी पूर्व कर्मचारीहरुलाई नै विभिन्न राजनीतिक एवं संवैधानिक नियुक्तिहरु दिन थालिएको छ । यसले गर्दा पूर्वप्रशासकहरुमा नेतालाई रिझाएर घुमाइ–घुमाइ नियुक्ति खाने लोभ बढेको छ ।

यद्यपि, सत्तारुढ नेकपाको हालै सम्पन्न कार्यदलले महत्वपूर्ण नियुक्तिहरु पार्टीको परामर्शमा गरिनुपर्ने निर्णय लिएको छ । यही क्रममा मन्त्रिमण्डल पुनर्गठन लगायत विभिन्न नियुक्तिहरुका विषयमा छलफल गर्न शुक्रबार पेरिसडाँडामा नेकपा सचिवालयको बैठक बस्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology