लौहपुरुष गणेशमान सिंहको स्मृति दिवस आज मनाइँदै


  • Jaynepalnews
  • शुक्रबार, अशोज २, २०७७

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २३ औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरि मनाइदै छ । कोरोना संक्रमणका कारण भर्चुअल रुपमा विभिन्न कार्यक्रमको आयोजना हुने भएका छन् । काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला वीपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका थिए ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिन्थे ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्रीसमेत बनेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोगे । जेलमा कठोर यातना पाउँदा पनि गोपनियता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ ९फलाम जस्तो कठोर मानिस०को उपमा दिइएको हो ।

आठ वर्षे काराबासपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । तर, तत्कालीन पञ्चहरूबाट बीपीसँगै उनलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

बीपीको निधनपछि कांग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी आफ्नो साथी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology