बाढीपहिरोपीडितलाई आर्थिक सहयोग


  • Jaynepalnews
  • मङ्लबार, अशोज ६, २०७७

६ असोज, गण्डकी । सर्वोच्च नेता गणेशमान सिंहको २३औँ स्मृति दिवसको अवसरमा तरुण दल कास्कीले शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार बाढीपहिरोपीडितलाई आर्थिक सहयोग गरिएको छ ।

तरुण दल कास्कीले कास्की क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–१ का विष्णु परियार, वडा नं २ का ऋषिराम अधिकारी, रामजी भण्डारी र राजाराम भण्डारीलाई जनही रु पाँच÷पाँच हजारका दरले सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङले लौहपुरुष गणेशमान सिंहको सम्झना गर्दै तरुणहरू पनि उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने बताउनुभयो ।

तरुण दलले गरेको कामको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा जागरुक हुन सक्नुपर्ने उल्लेख गर्नुभयो । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टीलाई सशक्त बनाउन युवा तरुणको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो ।

लौहपुरुषको सम्झनामा तरुण दल सुखमा मात्र नभई दुःखमा पनि साथमै छ भन्ने सन्देश दिन आफूहरुले थोरै भए पनि आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रम भएकाले आगामी दिनमा कास्कीको अन्य स्थानमा पनि आर्थिक सहयोग गर्ने योजना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology