
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्न लागेको छ ।
त्यसअघि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।
पार्टीको स्थायी कमिटीको निर्णय अनुसार मन्त्रिपरिषद पुनर्गठनको तयारीमा जुटेका दुवै अध्यक्षले आज यसलाई टुंगाएर मन्त्रिपरिषद पुनर्गठनको सम्भावना रहेको बताइएको छ ।
सामान्यतया सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठक प्रधानमन्त्री ओलीले आइतबार नै बोलाएकाले पुनर्गठनको चर्चा चलेको छ ।
अहिले अर्थ, सञ्चार तथा सूचना प्रबिधि र शहरी बिकास मन्त्रालय खाली रहेको छ भने दुवै अध्यक्षले तीन मन्त्रालयलाई टुक्राएर थप तीन मन्त्री थप्ने तयारी गरेका छन् । यस बारे निर्णय भइसकेको नभएपनि आन्तरिक विवाद मिलाउन संबिधानमा व्यवस्था भए अनुसार २५ मन्त्रालय बनाउन सकिने भएकाले अहिले भएका २१ लाई २४ सम्म पुर्याउने गृहकार्य भइरहेको छ ।
अहिले एकै रहेका उद्योग, वाणिज्य तथा आपूर्तिलाई दुई बनाउने तथा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई टुक्राएर दुई बनाउने तयारी भएको छ ।
त्यस्तै अहिले सरकारमा रहेका केहि मन्त्रीलाई हटाएर नयाँ अनुहारलाई भित्र्याउने गृहकार्य भएको छ ।