कोरोना नियन्त्रण गर्न २ वर्ष लाग्न सक्छ : डब्लुएचओ


  • Jaynepalnews
  • शनिबार, भदौ ६, २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुई वर्षभित्रमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउन सक्ने आशा व्यक्त गरेको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयेसोसले यस्तो बताएका हुन् ।

उनले महामारीको रूप लिएर नियन्त्रणमा आउन २ वर्ष लागेको स्पेनिस फ्लुको पनि उदाहरण दिए । सन् १९१८ मा विश्वभर फैलिएको स्पेनिस फ्लु ठूला महामारीमध्ये एक मानिन्छ । जसबाट ५ करोड मानिसको ज्यान गएको थियो ।

‘सन् १९१८ मा स्पेनिस फ्लुको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको थियो,’ टेड्रोसले भने, ‘कोरोना भाइरसको सवालमा यस्तै अपेक्षा गर्न सकिन्छ ।’ उनले अगाडि थपे, ‘भाइरस फैलिने खतरा छ । तर प्रविधिको विकास भइसकेकाले कम समयमा पनि नियन्त्रणमा आउन सक्छ ।’

कोरोनाविरुद्धको अभियानमा राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य जरुरी भएको भन्दै उनले त्यसमा जोड दिए । चीन उद्गम भएर फैलिएको कोरोना अहिले विश्वभर फैलिएको छ । हालसम्म यसबाट झण्डै ८ लाख मानिसको ज्यान गएको भने २ करोड २७ लाखभन्दा बढी मानिस संक्रमित छन्।

विश्वका विभिन्न देशमा पीपीई खरीदमा भ्रष्टाचार भएका समाचार सार्वजनिक भइरहेका छन् । टेड्रोसले त्यसलाई आपराधिक क्रियाकलापको संज्ञा दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology