प्रदेश ५ को राजधानी सम्बन्धि प्रस्तावमा ह्वीप लगाउने नेकपाको निर्णय


  • Jaynepalnews
  • आइतवार, अशोज १८, २०७७

१८ असोज, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ । मुख्यमन्त्री निवास बुटवलमा बसेको बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको हो ।

बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका छन् । बैठकमा कपिलवस्तुका सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा राखेका थिए ।

रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए । रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउदै आफ्ना भनाइ राखेका थिए ।

बैठकमा कपिलवस्तुका सांसद विष्णु पन्थीसहितले कपिलवस्तु नै राजधानी उपर्युक्त रहेको बताएका छन् ।

बैठकमा अर्घाखाँची र गुल्मीका सांसद विपक्षमा बोलेनन् भने प्युठान, रोल्पा, रुकुमका सांसदले बैठकमा सरकारको निर्णयको समर्थन गरेका छन् ।

सांसदहरुले आफ्ना धारणा राखेपछि दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिएका छन् । उनले पार्टीले सदनमा पेश गरेको प्रस्तावलाई पास गराउनका लागि सांसदहरुलाई आग्रह गरेका थिए ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेका हुन् ।

मन्त्री केसीले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदिले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव पेश गरेका छन् भने प्रदेश ५ को नाम लुम्बिनी राख्न प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश सभामा पेश गरेको प्रस्तावमाथि आउदो असोज १९ गतेदेखि छलफल शुरु हुने तालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology