प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा आज छलफल हुने


  • Jaynepalnews
  • सोमवार, अशोज १९, २०७७

१९ असोज, बुटवल । प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा आज छलफल हुने तालिका रहेको छ । आज हुने छलफलपछि हुने मतदान हुने कार्यतालिका रहेको छ ।

संविधानमा प्रदेशको राजधानी तोक्नका लागि प्रदेश सभामा दुईतिहाई मत आवश्यक रहेको व्यवस्था रहेको छ ।

प्रदेश ५ सरकारले राजधानीका लागि दाङको देउखुरी उपत्यकाको प्रस्ताव प्रदेश सभामा दर्ता गराएपछि बुटवलमा यसको व्यापक विरोध समेत भएको छ ।

नेकपाका केन्द्रीय नेतृत्व र खासगरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी बुटवलबाट सार्न समर्थन गरेपनि प्रदेश सभामा नेकपाकै १४ जना सांसदले लिखित रुपमा फरक मत राखेपछि यो विषय पेचिलो बनेको छ ।

नेकपाले सरकारको प्रस्तावलाई समर्थन गर्न हवीप जारी गर्ने निर्णय गरेपनि नेकपाका रुपन्देही, पाल्पा, नवलपरासी लगायतका सांसदहरुलाई पार्टीको ह्वीप नमान्न बाहिरबाट दबाब सिर्जना भएको छ ।

नेकपा रुपन्देहीले समेत राजधानी सार्ने निर्णयको विपक्षमा विज्ञप्ति नै जारी गरेपछि राजधानी सार्ने विषय नेकपा भित्रपनि विवादमा रहेको छ । चुनावमा बुटवललाई प्रदेश ५ को राजधानी बनाउने प्रमुख एजेन्डा बनाएर जितेका नेकपा महासचिव विष्णु पौडेलले पनि प्रदेश

सरकारले पेश गरेको राजधानी सार्ने प्रस्ताव फिर्ता लिन माग गरेकाले अब नेकपा भित्रनै यस विषयमा सहमति हुने सम्भावना कम देखिएको छ ।

सोमबार बुटवलमा भएको प्रदर्शनमा व्यवसायीहरुले पार्टीको ह्वीप नमानेर जनताको पक्षमा आउन आग्रह गरेका थिए। उनीहरुले जनताको चाहनाविपरीत गएर पार्टीको मात्रै निर्देशन मान्ने सांसदलाई बहिस्कार गर्नेसम्मका चेतावनी समेत दिएका छन् ।

प्रदेश सभाको अंकगणित कस्तो छ रु

प्रदेश ५ को प्रदेस सभामा कुल ८७ जना सांसद छन् । संविधानले प्रदेश सभाका कुल सदस्यको २ तिहाइ मतले प्रदेश राजधानी र नामाकरण गर्न सकिने व्यवस्था गरेको छ ।

यस अवस्थामा सरकारले पेश गरेको प्रस्ताव दुई तिहाईले पारित हुन् कुल ५८ मत चाहिन्छ । प्रदेश सभामा सत्तारुढ नेकपाका ६१ सांसद छन् भने नेपाली काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

सरकारको प्रस्तावलाई सत्तारुढ दल नेकपाका सबै सांसदले समर्थन गरेमा मात्र पनि राजधानी सार्ने प्रस्ताव सजिलै पारित हुन सक्छ । तर, रुपन्देही जिल्लासहित आसपासका जिल्लाका सांसदलाई राजधानी सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न जन दबाब रहेको छ ।

अहिले १४ जनाले सांसदले पार्टीको संसदीय दलको बैठकमा फरक मत राखेकाले उनीहरुको अडान कायम रहेमा सरकारको प्रस्ताव पारित हुने अवस्था देखिदैन । १४ जनाले विपक्षमा मतदान गरेमा नेकपासँग ४७ मत मात्र रहन्छ । यस अवस्थामा सरकारलाई आफ्नो प्रस्ताव पारित गराउन थप ११ मत आवश्यक पर्दछ ।

अब नेपाली काँग्रेसका १९ जना सांसदमध्ये १३ जना साविक लुम्बिनी अञ्चलका छन् भने ६ जना साविक राप्ती र भेरी अञ्चलबाट रहेका छन् । काँग्रेसका ६ जना सांसद थपिँदा प्रस्तावको पक्षमा ५३ मत हुन्छ, जसबाट पनि प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ मत पुग्दैन ।

त्यस्तै समाजबादी जनता पार्टीको तर्फबाट बाँके र बर्दियाका गरी २ सांसद र राष्ट्रिय जनमोर्चाको प्युठानका एक सांसदले प्रस्तावको पक्षमा मत दिएमा ५६ मत हुन्छ । यसबाट पनि राजधानी सार्ने प्रस्तावको पक्षमा दुइतिहाइ पुर्‍याउन २ अझै नपुग्ने देखिन्छ । यस अवस्थामा कपिलवस्तुका तर्फबाट काँग्रेसका ५ जना सांसद मध्ये २ जनाले पक्षमा मतदान गरेमा राजधानी सार्ने प्रस्ताव पारित हुने अवस्था आउन सक्छ ।

काँग्रेसले औपचारिक निर्णय अझै नगरेकाले सरकारको प्रस्ताव के हुने भन्ने अन्योलता अझै कायम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology