अनलाइन पत्रकार संजाल गठन


  • Jaynepalnews
  • सोमवार, अशोज १९, २०७७

काठमाडौं । स्वरोजगार अनलाइन मिडियामा कार्यरत प्रकाशक र पत्रकारहरुको सञ्जाल गठन भएको छ। स्वरोजगार अनलाईन मिडियाको व्यवसायिक हकहितका लागि क्रियाशील रहने उद्देश्यले अनलाइन पत्रकार संजाल नेपाल (ओजोन)को गठन भएको हो। अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता अभिबृद्धिका लागि पहल गर्ने उद्देश्यले सञ्जालको समन्वय समितिको गठन भएको छ। जसमा आजभोली डट कमका प्रकाशक सम्पादक लोकराज अवस्थीको संयोजकत्वमा १३ सदस्यीय संयोजन समितिको गठन गरिएको छ।

त्यस्तै सदस्यहरुमा शिवराज योगी, पदम राज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिवहादुर परियार, सरिता तिमल्सिना पंगेनी, विष्णु प्रसाद बेल्वासे, गोपाल वराइली, मीन बम, कमला हमाल र श्रवणप्रसाद शाह रहेका छन्। अनलाइन संचार संस्था संचालन तथा कार्यरत संचारकर्मीलाई एकिकृत तथा संगठित गर्दै समग्र अनलाइन पत्रकारिता हकहितका लागि यस संजालको आवश्यकता रहेको जनाईएको छ । अनलाइन संचालक तथा संचारकर्मीहरुले भोग्दै आएको कानुनी तथा व्यवसायिक समस्या तथा चुनौतिलाई समाधानका लागि पहल गर्ने तथा सरोकारवाला निकायकोबीचमा समन्वय गर्ने उद्देश्यका साथ संजालको स्थापना गरिएको संयोजक लोकराज अवस्थीले जनाएका छन् ।

संजालले देशभर अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता अभिबृद्धिका लागि पहल गर्ने, सूचना प्रविधिको क्षेत्रमा आएका नविनतम प्रविधिको प्रयोगमा पत्रकारहरुलाई अभ्यस्त गराउन पहल गर्ने, अनलाइन पत्रपत्रिका दर्ता, नविकरण तथा आवद्धता गराउने काममा सरकारी तहमा हुने अनावश्यक कानूनी झमेला, झण्झट र विलम्बमा सहजिकरण गर्न पहल गर्ने र अनलाइन सञ्चारमाध्यमका लागि न्यायोचित रुपमा विज्ञापन वितरणका लागि पहल र दवाव सिर्जना गर्ने उद्देश्य संस्थाको छ। देशभर छरिएका दर्ता भएका स्वरोजगार अनलाइन मिडिया र त्यसमा कार्यरत पत्रकार, सञ्चारकर्मीलाई एक सूत्रमा बाँधी उनीहरूको क्षमता अभिवृद्धि गर्ने, अनलाइन सञ्चार क्षेत्रमा आबद्ध गराई ब्यवसायिक पत्रकारिताका लागि पहल र पैरवी गर्ने संयोजक अवस्थीले बताए।

उनले कुनै संस्था फुटेर नयाँ संस्था स्थापना गरिएको नभएर यो पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि विशुद्ध ब्यवसायिक नेपाली अनलाइन पत्रकारितालाईअगाडि बढाउन पत्रकारको क्षमता, स्तर र अनुभवलाई राष्ट्रियकरण गर्दै नेपाल र नेपालीको हितमा काम गर्न ‘ओजोन’ को स्थापना भएको बताए। ‘देशभर छरिएका सम्पूर्ण अनलाइन पत्रकारहरू, अनलाइन पत्रकारितासँग सम्वन्धित संघ संस्थाहरू सबैलाई ओजोन स्वागत गर्दछ र पत्रकार र पत्रकारिताको हितका लागि यस महान अभियानमा सहभागी हुन र सहकार्य गर्न सवैमा आव्हान गर्दछौँ,’ संयोजक अवस्थीले जनाए । सबै अनलाइनलाई यस संजालमा आबद्ध हुनका लागि चाडै सदस्यता खुल्ला गर्ने समेत अवस्थीले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology