
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको युवा नीति बनाएर कार्यान्वयन गर्ने भएको छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको युवा नीति तयार गरिरहेको छ । प्रतिष्ठान अन्तर्गत युवा कार्यक्रम संयोजक समेत रहेका कांग्रेस युवा नेता रञ्जित कर्णको नेतृत्वमा युवा नीति तर्जुमा गर्न लागिएको हो । कर्णसहित कांग्रेसका डेढ दर्जन युवा नेताहरु नीति निर्माणमा सक्रिय रहेका छन् ।
डिल्लीराम सुवेदी, भरत भट्ट, सरोज थापा, उत्तम मिश्र, मनिष झा, झल विश्वकर्मा, चिरञ्जीवी भण्डारी, रविन कोइराला, विकास दाहाल, विनय देवकोटा, बिनोद पण्डित, मन्दिप सुवेदी, अपील केसी, विकल राई लगायतका युवाहरु पार्टीकोको युवा नीति निर्माणको काममा क्रियाशील छन् । अहिले प्रारम्भिक चरणमा युवा नीति निर्माणबारे छलफल भइरहेको नेविसंघ पूर्व अध्यक्ष एवं प्रशिक्षण प्रतिष्ठानका युवा कार्यक्रम संयोजक रञ्जित कर्णले जयनेपालन्यूजलाई बताए ।
‘कांग्रेसमा लाखौं युवाहरुलाई आकर्षित गर्न युवाबारे पार्टीको प्रष्ट नीति सार्वजनिक हुन जरुरी छ । त्यसैले हामीले युवा नीति तयार गर्दैछौं । यसबारे पार्टीभित्र पर्याप्त बहस गरेर अन्तिम मस्यौदा पार्टी केन्द्रीय समितिलाई बुझाउँछौं ।’, कर्णले भने ।
उनका अनुसार ३५ वर्ष ननाघेकाहरुलाई पार्टीभित्र युवा मान्ने, उद्यमशीलता र संगठनलाई प्राथमिकता दिने लगायतका विषयहरु युवा नीतिमा समेटिनेछ । ‘अब कांग्रेसभित्र ‘नो वर्क, नो पोलिटिक्स’ लागू हुनुपर्छ । राजनीति आम्दानीको स्रोत होइन सेवा हो । त्यसैले कांग्रेसमा लागेका हरेक युवा उद्यमशील हुनुपर्ने विषय नीतिगत रुपमै व्यवस्था गर्नुपर्छ ।’, कर्णले भने । युवा नीतिमा पार्टीका क्रियाशील युवाले ‘दिनको ३ घण्टा र हप्ताको ३ दिन आफ्ना लागि बाँकी समय पार्टीका लागि’ दिनुपर्ने गरी व्यवस्था गरिदैछ । युवा नीतिले कांग्रेसप्रति युवाहरुको आकर्षण बढ्ने र पार्टीभित्र युवाहरुलाई अवसर सिर्जना गर्ने विश्वास गरिएको छ । प्रारम्भिक छलफलका क्रममा रहेको युवानीतिको ड्राफ्टमा पार्टीका सबै तहमा १० प्रतिशत युवालाई आरक्षण दिनुपर्ने विषय पनि समेटिएको छ ।