
२० असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । आज अपरान्ह ४ बजेका लागि तय भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएपनि प्रदेश ५ को राजधानी र नामकरणको विषयले प्रवेश पाउने बताइएको छ ।
त्यस्तै आजको बैठकमा सरकारले गरेको राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रदेश ५ को राजधानीको विषय पेचिलो बन्दै गएपछि महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाएर विवाद मिलाउने प्रयास भइरहेको बताइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्भवत आजै प्रधानमन्त्रीले पौडेललाई अर्थमन्त्रीमा नियुक्त गर्नसक्ने सम्भावना रहेको छ ।
सरकारले पार्टी भित्र छलफल नै नगरी नियुक्तिहरु गरेकोमा पार्टी भित्र असन्तुष्टि बढ्दै गएको बेला यस बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारले गरेका निर्णयहरु प्रति असन्तुष्ट रहेको बताइएको छ ।
सरकारले केहि दिन अघि मुख्यसचिवसहित बेलायत र अमेरिकाको राजदुत नियुक्ति गरेकोमा पार्टीमा छलफल नगरेको भन्दै नेकपा भित्र असन्तुष्टि बढेको छ ।
स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेको, पार्टी एकीकरणको प्रक्रिया अघि नबढेको र केहि साता अघि भएको भनिएको सहमति कागजमा मात्र भएको भन्दै नेताहरु असन्तुष्ट भएका छन् ।