ओली संसारकै अंहकारी प्रधानमन्त्री : गगन थापा


  • Jaynepalnews
  • शनिबार, भदौ ६, २०७७

काठमाडौ । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले केपी शर्मा ओली संसारकै अहंकारी प्रधानमन्त्री रहेको बताएका छन् ।  बुधबार ,नेपाल ट्रेड युनियन कांग्रेस,प्रदेश १ ले आयोजना गरेको ‘श्रमिकमा कोभिड १९ संक्रमणको जोखिम र सुरक्षाका उपायहरु’ विषयक भर्चुअल कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

थापाले नेपालमा कोरोना संक्रमण नहुदै नागरिकको सुरक्षाकालागी आफु र विज्ञहरुले पटक पटक सुझाव दिए पनि बेवास्ता गरि संसारकै जान्ने बुझ्ने आफु मात्र हुँ भन्ने अहंकारले विषम परिस्थिति सृजना भएको आरोप लगाए ।  थापाले भने, “सरकार जनस्वास्थ्यमाथी चरम खेलवाड गरिरहेको छ । महामारी हाम्रो नियन्त्रणमा हुँदा हुँदै पनि सरकारको अकर्मण्यता र संवेदनहिनताले स्थिति तनावपूर्ण बन्दै गईरहेको छ । अहिले कोभिड १९ बाट मृत्यु भएका मध्ये दुई तिन जना बाहेक अरु सबै सरकारको लापरबाहीले मृत्यु भएको हो । त्यसैले यो मृत्यु नभई प्रधानमन्त्रीको अहंकारले हत्या भएका हुन् । यस्तो अवस्थामा समेत स्वास्थ्य मन्त्रालयले केहि गर्न नसक्नु  ,लाचार देखिनु दुर्भाग्य हो ।”

 उनले नागरिकको सुरक्षा , रोजगारी गुमाएका युवाको समस्या र  दैनिक छाक टार्न गाह्रो भएको श्रमिकको समस्या छोडि कुर्सीको लडाइँ ,  मन्दिर , धर्म र खोक्रो राष्ट्रवादको नारा, कुनै निरंकुश शासकले पनि गर्न नसक्ने ठोकुवा गर्दै  नेकपा नेतृत्वको सरकारको संवेदना नै नरहेको बताए ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले वर्तमान सरकार श्रमिकप्रती अत्यन्तै असहिष्णु रहेको बताए ।  लामो समयको लकडाउनमा समेत श्रमिकलाई राहत दिनु त कता हो कता, कसरी बाचिरहेका होलान् भन्ने समेत ख्याल नगर्दा आफु आश्चर्य चकित भएको जानकारी दिए । आचार्यले सरकार आफुले गरेको निर्णय समेत लागु गर्न नसक्दा पारिश्रमिक लगायतका मुद्दाहरुमा ट्रेड युनियन र रोजगारदाता मिलेर सम्झौता गरेको उल्लेख गर्दै  सम्झौताप्रती रोजगारदाता पनि इमानदार नदेखिएको आरोप लगाए ।

चिकित्सक संघका निवर्तमान अध्यक्ष डा मुक्ति श्रेष्ठले कोरोनाको संक्रमण समुदायस्तरमै फैलिसकेकोले श्रमिक वर्ग समेत संक्रमणको उच्च जोखिममा रहेकोले विश्व स्वास्थ्य संगठनको सुरक्षा प्रोटोकल अनुशरण गर्न सुझाव दिए ।  ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले आम नागरिक र श्रमिक कोभिड(१९ को संक्रमण संग संगै भोकमरीबाट बचाउन सरकारले प्रभावकारी कदम नचालिएकोले ट्रेड युनियन लगायत प्रतिपक्ष दलले प्रभावकारी दबाब दिनु पर्ने बताए । उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले श्रमिकलाई कोरोनाबाट बचाउन र  नियन्त्रण गर्न ट्रेड युनियन र रोजगारदाता एक हुनुपर्ने बताए ।  नेपाल कारखाना श्रमिक संघका अध्यक्ष अमृत जोशीले सरकारको यस्तै रवैया रहिरहे औद्योगिक क्षेत्रहरु कोरोना हब हुने चिन्ता व्यक्त गरे ।  कार्यक्रम  ट्रेड युनियन कांग्रेस,प्रदेश-१ का अध्यक्ष नारायणबाबु कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Read more at: https://nepalmarga.com/news-details/1994/2020-08-19
Follow us: @jhapatimes on Twitter | @jhapatimes on Facebook

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology