विपक्षमा मतदान गर्न काँग्रेसको ह्वीप, प्रदेश सभाको अंक गणित कस्तो छ ?


  • Jaynepalnews
  • मङ्लबार, अशोज २०, २०७७

२० असोज, बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप जारी गरेको हो ।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले बताएका छन् । उनले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको बताए । नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उनले बताए ।

कांग्रेसले निर्णय गरेपनि कांग्रेसका केही सांसदहरुले ह्विप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको छ । दाङ, बाँकेका नेताहरुले दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेश गरेका छन् ।

उक्त प्रस्तावमाथि सोमबार छलफल सम्पन्न भएको थियो ।

प्रदेशको अंक गणित

प्रदेशसभामा कुल ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मतका लागि ५८ मत चाहिन्छ, जुन मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सँग रहेको छ ।

नेकपाका कुल ६१ सांसद रहेका छन् जसमा ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी सम्बन्धि सरकारको प्रस्ताव पारित हुन्छ । दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले दाङकै पक्षमा मतदान गर्न सोमबार ह्वीप जारी गरिसकेको छ ।

प्रदेश सभामा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । सरकारको प्रस्तावअनुसार सत्तारुढ नेकपाका सांसदले मात्रै समर्थन जनाएमा दाङको देउखुरी उपत्यकालाई स्थायी राजधानी बनाउने प्रस्ताव सजिलै पारित हुन सक्छ ।

तर, रुपन्देही र आसपासका जिल्लाका सांसदलाई राजधानी सार्ने प्रस्तावको विपक्षमा मतदान गर्न जनदबाब रहेको छ ।

दबाब र जनभावनालाई मनन् गर्दै र पार्टीको कारवाही भोग्नतयार भएर १४ जनाले विपक्षमा मतदान गरेमा नेकपासँग ४७ मत मात्र रहन्छ । नेकपालाई सदनबाट राजधानी सार्ने प्रस्ताव पास गराउन अरु पार्टीको ११ मत चाहिन्छ । नेपाली कांग्रेसका १९ जनामध्ये १३ जना साविक लुम्बिनी अञ्चलका छन् भने ६ जना साविक राप्ती र भेरी अञ्चलका हुन् ।

कांग्रेसका ६ जना सांसद प्रस्तावको पक्षमा मतदान गरेमा प्रस्तावको पक्षम ५३ मत हुन्छ । त्यस्तै समाजबादी जनता पार्टीको तर्फबाट बाँके र बर्दियाका गरी २ सांसद र राष्ट्रिय जनमोर्चाको प्युठानका एक सांसद थपिएमा ५६ मत हुने तथा कपिलवस्तुका तर्फबाट कांग्रेसका ५ जना सांसद मध्ये २ जनाले प्रस्तावको पक्षमा मतदान गरेमा राजधानी सार्ने प्रस्ताव पारित हुन सक्ने देखिन्छ ।

प्रदेश सभामा साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका मात्र ५१ सांसद छन् भने साबिक राप्ती र भेरीका ३६ सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology