
काठमाडौं । थारु समुदायले आइतबार धुमधामका साथ ‘रैब पर्व’ मनाउँदै छन् । रोपाइँसँगै प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत रुपमा प्रसादको स्वरुपमा चढाउँदै आइतबार पूर्वका थारु समुदायले ‘रैब पर्व’ मनाउँदैछन् । पश्चिमका थारुहरुले भने यो पर्वलाई बड्का अटवारी भनेर मनाउने गर्छन् ।
तिथि अनुसार आइतबारलाई पूर्वीया थारु भाषामा ‘रैब दिन’ वा रैब पर्व भन्ने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ । थारु भाषामा आइतबारलाई रैब भन्ने गरेकोले यो पर्व रैब हुन गएको मानिन्छ ।
आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।
यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ । पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।