
२६ असोज, बागलुङ। प्रहरीले अदालतको फरार सूचीमा रहेका अभियुक्तको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन्। “२०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइसकेको छ”, जिप्रकाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले भने।
पहिले धरौटीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि अभियुक्तहरू सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ।न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरू पक्राउ पर्ने गरेका छन्। गत साता सरकारी छाप र कागजात दुरुपयोगको मुद्दामा ८३ वर्षीय पक्राउ परेका थिए।
पक्राउ पर्नेमा अधिकांश सार्वजनिक मुद्दाका दोषी छन्। बाँकी लागुऔषध, सवारी ज्यान मुद्दा, कुटपिट, चोरीलगायतका घटनामा संलग्न रहेकाहरु छन्। प्रहरीले पक्राउ परेका फरार अभियुक्तलाई फैसला कार्यान्वयनका लागि तत्कालै जिल्ला अदालतमा उपस्थित गराउने गरेको छ।
कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार पठाउने गरिएको प्रहरीले जनाएको छ। अन्य भने कानूनी प्रकृया अनुसार तोकिएको सजाय भुक्तान गरी अदालतबाट छुट्ने गरेको डीएसपी रेग्मीले बताए।