अब कोरोना संक्रमितको परीक्षण तथा उपचार नि:शुल्क हुदैन : सरकार


  • Jaynepalnews
  • सोमवार, कार्तिक ३, २०७७

३ कात्तिक, काठमाडौँ । सरकारले अबदेखि कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार निस्शुल्क नगर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको यस अघि निस्शुल्क परिक्षण र उपचार गरिदै आएकोमा अब भने निस्शुल्क नगर्ने निर्णय गरेको छ । नयाँ निर्णय अनुसार सरकार अब आइतबारदेखि अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले निस् शुल्क गर्ने भएको छ ।

अन्य नागरिकहरुले अब आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने सरकारले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार सरकारले गर्ने बताए ।

यसअघि सरकारले कोरोना संक्रमितको निस्शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो ।

प्रवक्ता गौतमले यस बारेमा जानकारी दिदै भने,‘विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण र उपचार निस्शुल्क गरिनेछ । तर उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिनेछ ।’

उनले यो निर्णय आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुने बताएका छन् ।

नेपालमा आज थप २ हजार ९४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ९४२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ३२ हजार २४६ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय २६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ८२ हजार १६६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९।७ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १२ लाख ८३ हजार ३५४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology