पत्रकारले मागे सहुलीयतपूर्ण ऋण


  • Jaynepalnews
  • शुक्रबार, कार्तिक १४, २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

आज अर्थमन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ ।
सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ ।

सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टिम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।

महासंघले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उनले सबै सुझावहरु एकैपटक लागू गर्न सक्ने अवस्था नभएपनि वर्गीकरण गरी तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए ।

महासंघले दुर्घटना बीमालाई थप विस्तार गरी स्वास्थ्य बीमा र जीवन बीमाको व्यवस्था गर्न पनि अग्रह गरेको छ । महासंघमा सदस्यता नविकरण भएसँगै स्वतः बीमा हुने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ ।

यसैगरी सरकारी अस्पताल र स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णयहरु पनि कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ ।

पत्रकार कल्याण कोषबाट यहि आर्थिक वर्षदेखि लागु हुनेगरी जेष्ठ पत्रकार जीजिकोपार्जन भत्ता वितरण गर्न पनि महासंघले आग्रह गरेको छ ।

विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार तत्काल सबै प्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने र स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमलाई प्रतिमिकता दिनपनि महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology