
काठमाडौं । नेपालमा राजनीतिज्ञलाई भारतीय ‘नागरिकताधारी’ आरोप लगाएर बदनाम गर्ने चलन नयाँ होइन । तर अब भारतीय राजनीतिकर्मीलाई समेत नेपाली ‘नागरिकताधारी’ को आरोप लगाएर बदनाम गर्ने काम सुरु भएको छ ।
प्रसंग भारतीय राजनीतिमा प्रभाव बढाउँदै गरेका नेपालभाषी नेता अनित थापाको हो । जो गोर्खा जनमुक्ति मोर्चा (विनय समूह) का महासचिव हुन् । आसन्न निर्वाचनमा खर्साङबाट उम्मेदवार बन्दै गरेका थापाविरुद्ध नेपालभित्र अभियान चलेको आरोप लागेको छ । हालै अनित थापासंग नेपाली नागरिकता रहेको आरोप लगाएर समाचारहरु प्रकाशित भएका छन् । यद्यपि थापाले यसको खण्डन गरेका छन् । थापा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिन्स्ट्रेसन (जिटिए) का अध्यक्ष समेत रहेका छन् ।
भारतीय नेता थापा नेपाली भाषी हुन् तर नेपाली नागरिकताधारी होइनन् । उनलाई बदनाम गर्न र भारतीय निर्वाचनमा प्रभाव पार्न नक्कली नागरिकताको फोटोकपी प्रचार गराइएको छ । केही नेपाली र भारतीय मिडियामा प्रकाशित गरिएको थापाको भनिएको नागरिकता फर्जी भएको पाइएको छ । झापा जिल्ला प्रशासन कार्यालयले समाचार आएको नागरिकता आफूले जारी नगरेको जनाएको छ ।
यसबाट थापाको नाममा नक्कली नागरिकताको फोटोकपी बनाएर विरोधीले प्रचार गराएको प्रमाणित हुन्छ । नेपालको भनेर प्रचार गरिएको नागरिकता २०५० सालको भनेर दावी गरिएको छ । तर सो नागरिकतामा थापाको हालसालैको फोटो ‘दुरुपयोग’ गरिएको छ । त्यस्तै सो ‘नक्कली नागरिकता’ नेपालमा २०५० सालतिर जारी हुने नागरिकताभन्दा फरक छ ।
गोर्खा जनमुक्ति मोर्चाका लोकप्रिय नेता रहेका थापालाई सिध्याउन विरोधीहरुले षड्यन्त्र गरेको खुलेको छ । आफूविरुद्ध भएको षड्यन्त्रबारे थापाले विज्ञप्तीमार्फत नै भत्सर्ना गरेका छन् । ‘दार्जिलिङमा जब जब भारतीय गोर्खाहरुको हकहितका लागि आवाज उठ्छ त्यति नै बेला ठूलो राजनीतिक षड्यन्त्र सुरु हुन्छ । मेरो नागरिकतामाथि प्रश्न उठाउनु यही राजनीतिक षड्यन्त्र हो’, थापाले भनेका छन् ।
थापाले आफ्नो नागरिकबारे लगाइएको आरोप प्रमाणित गर्नसमेत चुनौती दिएका छन् । आफू भारतीय गोर्खाहरुको हकहितका लागि संघर्षरत रहेको भन्दै थापाले आधारहीन आरोपबाट नडगमगाउने बताएका छन् । ‘हामी गोर्खाको हितका निम्ति लडेका हौं कुर्सीका लागि होइन । गोर्खाको हितमा लागेकै कारण मविरुद्ध यस्तो षड्यन्त्र भएको छ तर यस्तो षड्यन्त्र चिरेर अगाडि बढ्छौं’, थापाले भनेका छन् ।
नेपाली नागरिकता नभएको पुष्टी
गोर्खाल्याण्ड टेरिटोरियल एड्मिन्स्ट्रेसन (जिटिए) का अध्यक्ष समेत रहेका अनित थापाको नागरिकताका सम्बन्धमा प्रकाशित समाचार ‘फेक न्यूज’ भएको प्रमाणित भएको छ ।
काठमाडौं र दार्जीलिङका केही अनलाइनहरुले थापाको नाममा नेपालको झापा जिल्ला प्रशासन कार्यालयबाट २०५० सालमा नागरिकता जारी भएको दावी गरेका थिए । उनीहरुले नक्कली नागरिकताको फोटोकपी समेत समावेश गरेका थिए । तर झापा जिल्ला प्रशासन कार्यालयले दावी गरेअनुसारको नागरिकता जारी नभएको बताएको छ ।
‘समाचारमा आएको भनेको मितिमा अनित थापाको नाममा कुनै नागरिकता जारी भएको छैन । अनित थापाको भनेर दावी गरिएको नागरिकता नम्बरसमेत गलत छ’, जिल्ला प्रशासन कार्यालय झापानिकट स्रोतले भन्यो ।
‘यो कुनै राजनीतिक षड्यन्त्र हुनसक्छ । यस कार्यालयबाट जारी नै नभएको नागरिकताको फोटोकपी कसरी तयार भयो ? फोटोकपी चै नक्कली र कीर्ते हो’, झापा जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने ।
अनित थापाको विषयमा दुष्प्रचार भएको दावी उनका समर्थहरुको पनि रहेको छ । आसन्न निर्वाचनमा बलियो उम्मेदवारका रुपमा हेरिएका थापालाई कमजोर बनाउन अराजनीतिक हतकण्डा अपनाइएको उनीहरुको दावी छ ।