‘व्यक्तिपूजा’ त्यागौं, ‘प्रवृत्ति’ सुधारौं


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७

समयले सबैलाई ढिलो वा चाँडो पाठ सिकाउँदैछ । समय र प्रकृतिसंग पौठेजोरी खेल्ने वा समय र प्रकृतिलाई आफ्नो नियन्त्रणमा राखिराख्न सक्छु भन्ने अहंले कसैलाई पनि फाईदा पु¥याउने रहेनछ भन्ने तथ्य स्पष्ट देखिई सकेको छ । समयक्रमले क्रम भंग गरिरहेको छ वा निरन्तरता खोजिरहेको छ, यो भविष्यले नै तय गर्ने छ ।

समाजको सबै तहमा व्यक्तिको प्रभाव र प्रभुत्व बढदै गई रहेको छ । कुनैपनि व्यक्ति जब समाजको कुनै तप्काको नेतृत्वमा पुग्दछ, अनि उसलाई उसले प्रयोग गरिरहेको अधिकारहरु कम लाग्न थाल्दछ । नेतृत्वमा रहेको व्यक्तिलाई लाग्दछ कि यदि उसमा निहित अधिकारहरु बढाई दिने हो भने उसले सबै बिकृतिहरुलाई उन्मुलन गरिदिनेछ र समाजलाई उन्नत र विकसित समाजकोरुपमा परिष्कृत गर्नेछ ।

जब सम्बन्धित व्यक्तिको अधिकारमा बृद्धि गरिन्छ, तब सम्बन्धित व्यक्तिलाई लाग्दछ कि अधिकारहरु त बृद्धि भए तर समयावधि कम छ, यसैले समयावधि पनि बढाई दिने हो भने उसले समाजले चाहेको जस्तो समृद्धि वा सम्पन्नता वा सुशासन दिन सक्नेछ । जब अधिकारहरुको साथसाथै समायावधि पनि बढाईन्छ, तब पनि उसले समाजमा कुनैपनि तात्विक परिवर्तन ल्याउन सकेको देखिन्दैन । अनि प्रश्न जाग्छ, के कारणले अधिकार र समयावधि दुबै बढाउँदा पनि समाजले चाहेको जस्तो समृद्धि वा सुशासन प्राप्त हुन सकेन ?

यही प्रश्नको उत्तरमा मुलुकको सुशासन र समाजको परिवर्तनको बाधक तत्व लुकेको छ । समाज कुनै पनि समस्याको तत्काल समाधान खोज्छ । समाजलाई लाग्दछ कि यो समस्या तत्काल उब्जिएको हो र यसको तुरुन्त समाधान गर्न सकिन्छ र गर्नु पर्दछ । समाजमा बिद्यमान कतिपय समस्याहरु एक दिनमा वा तत्काल उब्जिएका होईनन् र हँुदैनन् पनि । यसको लामो श्रृखलाबद्ध कारणहरु हुन्छन् र एक आपसमा जोडिएर निरन्तरता दिईरहेका हुन्छन् ।

समाजलाई लाग्दछ कि व्यक्तिले चाहेमा यि समस्याहरु तत्काल समाधान हुन्छन् । व्यक्तिले नचाहेर नै यि समस्याहरुको थाँती लागेको छ । बाहिरबाट झट्ट हेर्दा त्यस्तो देखिन्छ तर यथार्थमा त्यस्तो हँुदैन ।

समाज जब व्यक्तिको देवत्वरण गर्न थाल्छ, मानौं कुनै सपनामा देवता आउनेछन् र सबै समस्याहरुको समाधान तत्काल गरिदिनेछन् । तर सामान्यतया त्यस्तो हँुदैन ।

व्यक्ति समाजको एउटा महत्वपुर्ण अंग हो । व्यक्तिले चाहेमा समाजमा परिवर्तन गर्न सक्दछ, यो पनि सत्य हो । समाजले पनि व्यक्तिलाई प्रत्यक्ष प्रभावित गरिरहेको हुन्छ, यो पनि सत्य हो । अनि काहाँ चुक्यौ त हामी ? किन हँुदैन समस्याहरुको समाधान ?

समस्याहरुको आवरणको सतही बिश्लेषण र समाधानका तत्काल उपायहरुमा मात्र केन्द्रीत हुने र यसको गहिरो बिश्लेषण नगरि आ–आफ्नो मपाईत्वको डम्फु मात्र बजाउने प्रवृति नै समस्याहरुको पनि समस्या हो । सस्तो र क्षणिक लोकप्रीयताको लागि जे पनि बोल्ने र जे पनि गर्ने प्रवृति नै समस्याहरुको पनि समस्या हो । व्यक्तिको देवत्वकरण वा नायकत्वकरण नै समस्याहरुको पनि समस्या हो । समाजलाई अन्धकारमा राखेर आफ्नो स्वार्थ र फाईदाको लागि नैतिक मुल्य र मान्यतालाई तिलान्जली दिने प्रवृति नै समस्याहरुको पनि समस्या हो । बोली र लेखाईमा एकाथरी हुने तर व्यवहारमा त्यसको ठिक विपरित हुने प्रवृति र यस्तो गलत प्रवृतिको पनि पुजा गर्ने अन्धभक्त प्रवृति नै समस्याहरुको पनि समस्या हो ।
व्यक्ति, समाज, समस्या र समाधानका उपायहरुको बिचमा रहेको सम्बन्धलाई बुझ्न नसक्नु वा बुझाउन नसक्नु थप समस्या हो । पहिलो , कुनै पनि समस्या एक दिनको उपज हुँदैन, यसमा बिगतको समय र समस्याहरुले पनि योगदान गरेको हुन्छ, यो सत्यलाई स्विकार गर्न हिचकिचाउनु हुँदैन । दोस्रो, व्यक्ति वा समाज कुनै पनि व्यक्तिको लहड वा मुडले चल्दैन; विचार, विधि र व्यवहारले चल्छ । कुनै विचारले मात्र व्यक्ति वा समाजलाई असल बाटोमा डो¥याउन सक्छ भन्ने सत्यलाई पनि आत्मसात गर्न सक्नु पर्दछ । तेस्रो, समस्या र यसको समाधानका उपायहरुको विश्लेषण कुनै व्यक्तिगत वा सामाजिक आग्रह वा पूर्वाग्रह भन्दा पनि विशुद्ध वैज्ञानिक आधारमा गरिनु पर्दछ । चौथो, व्यक्ति, समाज, समस्या र यसका समाधानका उपायहरु बिच कुनै न कुनै दृश्य वा अदृश्य वैचारिक डोरीले प्रभावित र समन्वय गरिरहेको हुन्छ, यसलाई बुझ्न र बुझाउन अति आवश्यक हुन्छ ।

समस्याको समाधानको मुख्य जड यहि बिन्दुमा लुकेको छ । व्यक्तिलाई केन्द्रविन्दुमा राख्ने तर विचारलाई महत्वपुर्ण रुपले वैज्ञानिक तरिकाले बहसमा नल्याउनु नै समस्याको मुल जड हो । कुनै पनि समस्या समाधानको लागि विचार प्रमुख र व्यक्ति सहायक हुन्छ । विचारको वैज्ञानिक विश्लेषण र निष्कर्षबाट नै समस्याको समाधान खोज्न सकिन्छ ।

समस्याहरु भिन्न भिन्न प्रकारका हुन्छन् । जस्तै – व्यक्तिगत समस्या, सामुहिक समस्या, सामुदायिक समस्या, पारिवारिक समस्या, सामाजिक समस्या, राजनीतिक समस्या, वैज्ञानिक समस्या, स्वास्थ्य समस्या, पर्यावरणीय समस्या, आर्थिक समस्या, सुशासनको समस्या, सुचना र संचारको समस्या, भौतिक समस्या, मानसिक समस्या, मनोवैज्ञानिक समस्या, राष्ट्रिय समस्या, अन्र्तर्राष्ट्रिय समस्या र संबैधानिक समस्या ईत्यादि । यि सबै समस्याहरु कुनै न कुनै विचारको संजाल भित्र पर्दछन् । यिनलाई व्यष्टि र समष्टि आधारमा केलाउनु पर्दछ ।
सबै समस्याहरुलाई एउटै चस्माले सगोलमा हेर्ने हो भने गलत हुन्छ । प्रत्येक समस्याको पृथक पृथक कारणहरु र समाधानका फरकफरक उपायहरु हुन्छन् । तर, यि समस्याहरुलाई वैचारिक र वैज्ञानिक आधारमा वर्गिकरण गर्न सकिन्छ, जसले यिनका कारणहरु र निराकरणका उपायहरु पत्ता लगाउन र अपनाउन सजिलो बातावरण निर्माण गर्न सक्दछ ।

समस्या व्यक्ति प्रधान हो कि ? समस्या नीति र कार्यक्रम प्रधान हो कि ? समस्या विचार प्रधान हो कि ? समस्या आर्थिक अभावको कारणले हो कि ? समस्या विज्ञान प्रधान हो कि ? समस्या प्रवृतिको कारणले हो कि या समस्याको लागि अन्य कुनै पृथक कारण प्रधान छ, त्यसको निक्र्योल गर्न सक्नु पर्दछ । समस्याको प्रमुख कारक तत्वको पहिचान भईसकेपछि यसको सहायक कारक तत्वहरुको पनि पहिचान गर्नु पर्दछ । समस्याको कारणहरुको पहिचान भई सकेपछि यसको निराकरण गर्न सजिलो हुन्छ र निराकरण पनि चाँडै गर्न सकिन्छ ।

समस्याको विषयमा सबैजना चिन्तित हुन्छन्, यसको समाधान पनि चाहन्छन् तर अग्रसरता कमैले मात्र लिन्छन् । यसको समाधानको लागि अरु कुनै व्यक्तिको मुख ताकेर बसेका हुन्छन् या त सरकारको आस गरेर बसेका हुन्छन् । सबैभन्दा लाजलाग्दो परिस्थिति नै यहि हो कि कुनै पनि व्यक्ति समस्या समाधानको लागि आफुलाई घाटामा राखेर वा जोखिम मोलेर समाधानको लागि अग्रसरता लिदैनन् ।

समस्याको थुप्रो अगाडि बर्षौ दलिनमा बसेर मानिस जम्मा पारेर व्यक्ति, समाज र सरकारलाई आलोचना गरेर बसिरहने, नेताहरुलाई तथानाम भनिरहने र छिमेकीलाई धारो हात लगाईरहने तर समस्याको समाधानको लागि आफुले कुनैपनि प्रकारको अग्रसरता नलिने प्रवृति नै समस्याहरुको पनि समस्या हो

समस्या जन्माउन वा यसको समाधान गर्नको लागि व्यक्तिको अकर्मण्यता दोषी हुन सक्छ तर त्यो भन्दा पनि समाजमा मौलाएको अग्रसरता नलिने प्रवृति बढी दोषी छ ।

कुनै पनि समस्या कुनै सपनाको राजकुमार आएर समाधान गरिदिन्छ भन्ने सोंच नै समस्याहरुको पनि समस्या हो । कुनै पनि व्यक्तिको देवत्वरण वा नायकत्वकरण गर्नु, व्यक्तिको भक्तिगानमा रमाउनु, सत्ताको आराधना गर्नु, आफ्नो कान नछामी कागको पछि दौडनु र अन्धभक्तिभावलाई नै आफ्नो ऊर्जा ठान्नु नै गंभिर भुल हो भन्ने सत्यलाई पनि स्विकार गर्न नसक्ने प्रवृति नै समस्याहरुको पनि समस्या हो ।

यसर्थ, भगवान बुद्धले भन्नु भए जस्तै संसारमा समस्या छ, यसको कारणहरु पनि छन् र यसका समाधानका उपायहरु पनि छन् । मानिस स्वयंले प्रयत्न गर्ने हो भने समस्याको पहिचान गर्न सक्छ, यसको कारणहरुको खोजी गर्न सक्छ र यसको समाधानको उपायहरु पत्ता लगाएर निराकरण पनि गर्न सक्दछ । यसको लागि हरेक व्यक्तिले अकर्मण्यता, व्यक्ति पुजा र परनिर्भरताको प्रवृतिप्रतिको आसक्ति त्याग्न सक्नु पर्दछ । समस्याहरुको पनि समस्या व्यक्तिमा कम र प्रवृतिमा बढी देखिन्छ । समस्याको समाधान गर्ने हो भने हरेक व्यक्तिले गलत प्रवृति र व्यक्तिपुजा त्याग्न आवश्यक देखिन्छ । प्रवृत्तिहरुमा सुधार हुन सक्यो भने समस्याहरुको पहिचान र यसको समाधान गर्न सहज हुनेछ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology