नेकपाले सचिवालय बैठक बोलायो


  • Jaynepalnews
  • आइतवार, साउन ३२, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहानलाई सचिवालय बैठक बोलाएको छ । भोलि बिहान साढे ९ बजेबस्ने गरी सचिवालय बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

भोलिको सचिवालय बैठकले नेकपाको विवाद सुल्झ्याउन बिहीबार गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यदेश दिनेछ ।

खनालले भने, ‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइने छ । त्यस्तै पार्टी भित्रका अन्य विषयमा पनि छलफल हुन्छ ।’

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलबाट पार्टीको विवाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

त्यस्तै बैठकमा सरकारको कामकारबाहीको पनि समीक्षा हुने बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली सचिवालयमा रहेका प्रधानमन्त्री भइसकेका बाहेक सबैलाई समेट्ने गरी मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहितको मन्त्रालय दिन कानूनी परामर्श लिएको बताइएको छ । त्यस्तै ओली, प्रचण्ड र नेता नेपाल तीनै वटा गुटका तर्फबाट बराबरी मन्त्री बनाउने तयारी रहेको पनि बालुवाटार स्रोतले जनाएको छ ।

अब प्रधानमन्त्री ओलीले नेपाल समूहबाट सुरेन्द्र पाण्डे, भीम रावल तथा प्रचण्ड पक्षका जर्नादन शर्मा, पम्फा भूषाल र प्रभु साहलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

यसअघि नेकपाको सचिवालय बैठक साउन ३ गते बसेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology