नेपाली कांग्रेसको महाधिवेशन फागुनमा नहुने


  • Jaynepalnews
  • सोमवार, भदौ ८, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामि फागुनमा नहुने निश्चित भएको छ । कोरोना महामारीका कारण कार्यतालिका कार्यान्वयनमा परेको असर र समायोजनकै काम बाँकी रहेकोले महाधिवेशन फागुनमै हुन असम्भव भइसकेको छ । कांग्रेसको शीर्ष नेतृत्व फागुनमा महाधिवेशन गर्न तयारी नपुग्ने निष्कर्षमा पुगिसकेको छ । यद्यपि कोरोनाका कारण जारी निषेधाज्ञा सकिएपछि मात्रै यसबारेमा औपचारीक निर्णय लिने तयारी गरिएको छ ।

गत असार २२ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो । महाधिवेशनको मिति यथावत राखेर कार्यतालिका हेरफेर गरिएको भएपनि संशोधित कार्यतालिका अनुसार पनि काम हुन सकेको छैन । संशोधित कार्यतालिकमा साउन १० गतेभित्र समायोजनको काम सम्पन्न गरिसक्ने उल्लेख थियो । सो समय घर्किएको १ महिना बित्नै लाग्दापनि झण्डै १ दर्जन जिल्लाको समायोज टुंगिएको छैन ।
क्रियाशील सदस्यता नवीकरणका लागि साउन मसान्तसम्मको अवधी तोकिएको भएपनि शीर्ष नेताबीचको सहमतिका आधारमा थप ५० प्रतिशत क्रियाशील सदस्यताको फाराम जिल्ला पुग्ने क्रम जारी छ । नवीकरणको कामपनि पूर्ण रुपमा सकिएको छैन । यसरी संशोधित कार्यतालिका अनुसार काम नभएकै कारण फागुनमा कांग्रेस महाधिवेशन नहुने निश्चित भइसकेको छ ।

नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल गत फागनुमा सकिएको थियो । विधानको व्यवस्था अनुसार १ वर्ष अवधी थप गरेर आगामि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिएको भएपनि फागुनबाट पनि महाधिवेशन सर्ने अवस्था बनेको छ । कांग्रेसको विधानमा फागुनउप्रान्त अन्तिमपटक ६ महिना कार्यकाल थप गर्न सकिने व्यवस्था रहेको छ ।

सो अवधीसमेत जोडेर २०७८ साल भदौंसम्ममा कांग्रेसले महाधिवेशन गरेर आफ्नो वैधानिकता जोगाउन सक्छ । पार्टीभित्रको विवाद यथावत रहेको , क्रियाशील सदस्यताको टुंगो समेत नलागेको र मूलतः कोरोना महामारीले सिर्जना गर्ने अवस्थाको आँकलन नभएको भएपनि कांग्रेसका सबै गुटका नेताहरु फागुनमै नभएपनि ढिलोमा बैशाख,जेठसम्म महाधिवेशन गनुपर्ने पक्षमा देखिन्छन् । महाधिवेशन भदौंसम्म हुने अवस्था नबने संविधान नै संशोधन गर्नुपर्ने र त्यसका लागि नेकपा सरकारसंग भर पर्नुपर्ने स्थिति आइपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology