सांसदहरुले भने ‘सरकारले कुरा सुनेन’


  • Jaynepalnews
  • बिहिबार, भदौ ११, २०७७

काठमाडौं । काठमाडौंबाट प्रतिनिधिसभा तर्फ निर्वाचित सांसदहरुले कोरोना संक्रमणका विषयमा सरकारलाई पटक पटक दिइएको सुझाव सरकारले नसुनेको बताएका छन । बुधबार काठमाडौंको एक स्थानमा जम्मा भएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० जना सांसदले कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको बताए ।

कांग्रेस सांसद गगनकुमार थापाले सरकारले संक्रमणको गति तिव्र रुपमा बढ्दै जाँदा समेत न्युनिकरणका लागि ठोस योजना नबनाएको र विज्ञको सुझावलाई समेत अटेर गरेको बताए । ‘सरकारलाई पटक पटक सचेत गराएका छौं, अवस्था यो छ यस्तो हुँदैछ भनेर पटक पटक भन्यौं, तर सरकार सुन्दैन, नसुने जस्तो गर्छ,’ कांग्रेस सांसद थापाले भने ।

नेकपा सांसद शशि श्रेष्ठले कोरोना महामारी नियन्त्रणतर्फ केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीच जसरी संयोज हुनु पथ्र्यो त्यो नभएको बताइन । ‘यो महामरीका बेला केन्द्र, प्रदेश र स्थानीय सरकार बीच जसरी संयोजनका साथ काम हुनु पर्ने हो त्यो भइरहेको छैन, महामारीमा सरकारलाई जिम्मेवार बनाउँन अब संयुक्त दलीय संयन्त्र बनाउँन दबाब दिनु पर्छ,’ श्रेष्ठले भनिन ।

कांग्रेस सांसद भीमसेनदास प्रधानले संक्रमितको संख्या बढ्दै गएको वर्तमान अवस्थामा निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाइनु पर्ने बताए । ‘निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउने तर्फ सरकारको ध्यान जाओस, सम्वन्धित क्षेत्रको सांसद त्यसको इनिसियसन लिन तयार रहौं,’ प्रधानले भने ।

सांसद राजेन्द्रप्रसाद श्रेष्ठले महामारीको वर्तमान अवस्थामा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा नसुनेको बताए । ‘महामारीको वर्तमान समयमा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा सुनेनन र सुन्ने तर्फ ध्यान नै दिएनने,’ सांसद श्रेष्ठले भने ।

कांग्रेस सांसद दिव्यमणीराज भण्डारीले सरकारले आफ्नै दलका नेता, जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको बताए । ‘सरकारले कोरोना महामारीका सन्दर्भमा आफ्नै दलका नेता, जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको सुनिन्छ, यो कस्तो सरकार हो ?,’ उनले भने ।

नेकपा सांसद जीवनराम श्रेष्ठले संक्रमितलाई राख्न होम आइसोलेसन उपयुक्त नभएको भन्दै सरकारले नै संस्थागत रुपमा आइसोलेसन बेड तयार गर्नु पर्ने बताए । उनले समयमा नै संक्रमित देखिएकाहरुको रिपोर्ट नआउँने अवस्थामा समेत सरकार जिम्मेवार बन्नु पर्ने र सोही कारण नै संक्रमितको संख्या झनै बढ्दो अवस्थामा गइरहेको बताए ।

कांग्रेस सांसद राजन केसीले सरकारले उपत्यकाका सांसदहरुको गुनासो तथा सुझाव नसुनेको भन्दै उपत्यकाका सासदहरुको साझा फोरम बनाएर दबाब सृजना गर्नु पर्ने बताए । नेकपाकी सांसद रामकुमारी झाँक्रीले सरकारको मानसकिता नै नसुन्ने र सुनेपनि व्यवहारमा लागू नगर्ने तर्फ केन्द्रित रहेको बताइन ।

‘अवस्था झनझन बिग्रदै छ, सरकार सुन्दैन, सुने पनि व्यवहारमा लागू गर्ने तर्फ सरकारको ध्यान केन्द्रित भएको छैन, स्थानीय जनप्रतिनिधि देखि प्रधानमन्त्री र मन्त्रीसम्म नै नसुन्ने प्रवृती देखियो,’ झाँक्रीले भनिन । कांग्रेस सांसद प्रधानको पहलमा भएको उपत्यकाका सांसदहरुको छलफलमा नेकपा सांसद कृष्ण राइ, बिन्दा पाण्डे सहितले धारणा राखेका थिए । प्रधानले उपत्यकाका समस्याको समाधानका लागि सांसदहरुको साझा संयन्त्र शुशिल कोइराला प्रधानमन्त्री हुँदा समेत रहेको र सोही संयन्त्र ब्युताएर समस्या समाधान गर्ने तर्फ सबै सांसदहरु एकताबद्ध र एकिकृत भएर अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology