देउवाको डरले निधिको पक्षमा बोल्न सकेनन् नजिकका भनिनेहरु


  • Jaynepalnews
  • बिहिबार, भदौ ११, २०७७

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले पार्टीको आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । निकटका नेता कार्यकर्तादेखि सभापति शेरबहादुर देउवा समेतलाई निधिले आफू सभापतिको उम्मेदवार बन्न तयारीमा लागेको बताइसकेका छन् । तर निधिको दावीलाई सभापति देउवा नेतृत्वमा रहेको गुटभित्रै असहयोग हुने स्थिति देखिएको छ ।

निधिको उम्मेदवारीलाई सबैभन्दा पहिलो अस्वीकार सभापति देउवा नै गरेका छन् । अघिल्लो साता निधिले उम्मेदवारीबारे जानकारी गराउनासाथ देउवाले अझैं एकपटक आफैंलाई सहयोग गर्न निधिसंग आग्रह गरेका थिए । निधि बाहिरिएलगत्तै देउवाले अन्य निकट नेताहरुलाई बोलाएर निधिको समर्थन आवश्यक रहने भएकोले उनलाई चिढ्याउने गरी मिडियामा प्रस्तुत नहुन निर्देशन दिएका थिए । यही कारण निधिको उम्मेदवारीको विरुद्धमा खुलेर कसैले बोलेका छैनन् तर देउवाको गोप्य निर्देशनपछि पूर्व उपसभापति गोपालमान श्रेष्ठले आफूपनि सभापतिको दावेदार भएको बताएका छन् । अहिले देउवावृत्तमा निधिभन्दा गोपालमान सिनियर रहेकोले उनको दावी पनि स्वभाविक रहेको चर्चा हुन थालेको छ ।

निधिको उम्मेदवारीलाई सामाजिक सञ्जालमा देउवा निकट कार्यकर्ताहरुले अस्वभाविक भनेका छन् । त्यस्तै निधिनिकट भनिने कसैले पनि अहिलेसम्म उनको पक्षमा बोल्न सकेका छैनन् । कांग्रेसमा ज्ञानेन्द्रबहादुर कार्की,आनन्द ढुंगाना, फरमुल्लाह मन्सुर, अर्जुन जोशी, विश्वप्रकाश शर्मा, महेन्द्र यादव, गोविन्द भट्टराई, अजय चौरसिया लगायतका नेताहरु निधिनिकट मानिन्छन् । सभापति देउवा रिसाउने डरका कारण निधिको पक्षमा कसैले पनि खुलेर बोल्ने हिम्मत नगरेका हुन् ।

निधि निकट एक नेताले सभापतिका बारेमा बोल्ने बेला नआएको बताए । आफ्नो बाध्यता बुझिदिन आग्रह गर्दै ती नेताले सभापतिमा देउवाले ईच्छा गर्दासम्म सोही टिममा रहेर अर्को नेतालाई वचन दिने अवस्था नरहेको बताए । “विमलदाईलाई सभापति बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ तर अहिले बोलिहाल्ने स्थिति छैन ।”, ती नेताले भने । देउवा टिममा अहिले नै देउवाको विकल्पबारे बोल्दा राजनीतिक करिअरमा धक्का पुग्न सक्ने डर अधिकांशमा देखिन्छ ।

निधि स्वयंले केही समय शान्त ढंगले उम्मेदवारीबारे बुझाउन सक्रिय हुनुपर्ने बताउने गरेका छन् । देशभरका नेता कार्यकर्ताहरुसंग टेलिफोन तथा भर्चअल संवादका दौरान निधिले आफू सभापति लड्ने निश्चित रहेको बताउने गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology