
११ भदौ, बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना अभियुक्तमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि इलाका प्रहरी कार्यालयमा रहेर मुख्यमन्त्री शङ्कर पोखरेलको इस्कर्टिंगमा खटिएका तीन जना प्रहरीमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
लगत्तै इलाका प्रहरी कार्यालयका अन्य प्रहरी र हिरासतमा रहेकाको समेत स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले उनीहरूमा बुधबार दिउँसो सङ्क्रमण पुष्टि भएको बताएको छ ।
सङ्क्रमण पुष्टि हुनेहरूमा विभिन्न अभियोगमा यसैसाता हिरासतमा राखिएका पुरुष हुन् ।
सङ्क्रमण पुष्टि भएलगत्तै उनीहरूको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ ।