प्रचण्डसंग कुनै कुरामा मनमुटाव नभएको प्रधानमन्त्री ओलीको दावी


  • Jaynepalnews
  • आइतवार, भदौ १४, २०७७

१४ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन्।

शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको गतिविधि सञ्चालन गर्ने र आफूले सरकार चलाउने बताए । ‘हामीबीच कुनै पनि मनमुटाव छैaन। पार्टी र सरकार सञ्चालनका क्रममा हामी दुवैबीच छलफल सरसल्लाह भइरहन्छ’, प्रधानमन्त्री ओलीले भने।

पार्टीले सरकारलाई नीतिगत निर्देशन दिन सक्ने तर, सरकार नै सञ्चालन गर्न नसक्ने उनको भनाइ छ। ‘अहिले बुझाइमा अलि कमी आएको देखिन्छ। पार्टीले नीतिगत निर्देशन दिन सक्छ। सरकार सञ्चालन गर्न त प्रधानमन्त्री हुन्छ, मन्त्रीहरू हुन्छन्,’ उनले भने, ‘पार्टीले नै सरकार चलाउने हो भने किन मन्त्रिपरिषद् चाहियो, किन प्रधानमन्त्री चाहियो रु यो कुरामा सबै प्रष्ट हुनुपर्छ।’

अर्को प्रसंगमा ओलीले पार्टीभित्र केही समस्या रहेपनि पार्टी नफुट्ने समेत स्पष्ट पारे । ‘पार्टी एकता एकछिनको लागि होइन । परिवर्तन ल्याउनका लागि नै हो । यस देशमा अग्रगामी परिवर्तनको गतिलाई निरन्तरता दिन हो । सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र विकास निर्माणका प्रक्रियालाई अघि बढाउन हो । त्यसका लागि स्थयित्व चाहिन्छ । पार्टी फुट्दैन’, उनले भने ।

अध्यक्ष प्रचण्ड र आफूबीच केही समय सामान्य मनमुटावबाहेक कुनै समस्या नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ। महाधिवेशनबाट नयाँ नेतृत्व आउने भन्दै सहमतिका आधारमा अगाडि बढ्यो भने कुनै पनि प्रतिस्पर्धी नहुने उनी बताउँछन्। प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसँग आफ्नो तर्फबाट कुनै चिसोपन नरहेको समेत स्पष्ट पारे। नेकपा उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे सुझावले केही सहज भएको उनको भनाइ छ।

गौतमको सुझाव नेकपा फुट्नबाट जोगाउन सञ्जिवनी बुटी बन्यो है भन्ने प्रस्तोताको प्रश्नमा उनले भने, ‘उहाँको सुझावले केही हदसम्म सहज भयो होला। पार्टी नै फुट्न लागेको भन्ने कुरा कहाँबाट आयो रु’

यस्तै प्रधानमन्त्री ओलीले पार्टीको निर्णय आफूबाट उलंघन नभएको र आगामी दिनमा पनि नहुने समेत बताए । तर उनले पार्टीले के निर्णय गर्ने र के नगर्ने भन्नेमा चाहिँ विचार पुर्याइनुपर्नेमा बताए ।

उनले भने, ‘कार्यदलले बुझाएको प्रतिवेदनमा मैले पार्टी पद्धति उलंघन गरेको कुरा आएको छैन । अहिले पद्धतिको कुरा गर्ने हो भने वातावरण जसरी अघि बढाउन खोजिएको छ, त्यसलाई सहयोग नपुग्न सक्छ । पार्टी विधिसम्मत ढंगले अघि बढ्नुपर्छ । विचारका आधारमा पार्टी संगठन चल्नुपर्छ । अनुशासनहीनता, अराजकता हुनु भएन ।’ उनले सरकार ठीक ढंगले अघि बढेको पनि अन्तर्वार्तामा बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology