नेकपा भित्रको विवादको नयाँ अध्याय शुरु


  • Jaynepalnews
  • मङ्लबार, भदौ १६, २०७७

१६ भदौ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उपाध्यक्ष वामदेव गौतमले फेरी तरंग ल्याइदिएका छन् ।

वामदेवले आफुलाई राष्ट्रिय सभाको सदस्य बनाउने सचिवालयको निर्णय कार्यान्वयन गर्न भनेर नेकपा भित्रको प्रधानमन्त्री केपी शर्मा ओली खेमालाई तरंगित बनाइदिएका हुन् ।

केही समय अगाडि राष्ट्रियसभा सदस्य बन्न अस्वीकार गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा जान तयार भएका छन् । सोमबार यस सम्बन्धि समाचार उनी आफैंले र सचिवालयमार्फत राष्ट्रियसभामा जान तयार रहेको सन्देश मिडियामा सार्बजनिक गरेका छन् ।

गौतमको यो पछिल्लो कदमले नेकपा भित्रको विवादको नयाँ अध्याय शुरु हुनसक्ने अनुमान गरीएको छ । प्रधानमन्त्री ओलीलाई भेटेर गौतमले सचिवालयले आफुलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयनका बारेमा चासो व्यक्त गर्दै सो निर्णय कार्यान्वयन गर्न भनेको बताइएको छ ।

तर गौतमको यो कदमले प्रधानमन्त्री ओलीको अर्थमन्त्री डा। युवराज खतिवडालाई निरन्तरता दिने चाहनामा अवरोध हुने देखिएको छ । खतिवडालाई भदौ २१ अघि नै राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने अवस्थामा केहि दिन मात्र बाँकी हुदा गौतमको यो सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अब यो विषय भदौ १८ मा बस्ने भनिएको नेकपा सचिवालय बैठकमा प्रवेश पाउने नेकपा वृतमा चर्चा चलिरहेको छ ।

गत फाल्गुनदेखि राष्ट्रिय सभामा मनोनयन हुने एक सीट खाली रहेको छ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न बिहीबार बस्न लागेको सचिवालय बैठकमा नयाँ एजेण्डा प्रवेश गर्ने देखिएको छ ।

सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुनमा सपथ लिएका थिए । संसद् सदस्य नरहेका अर्थमन्त्री खतिवडाको म्याद भदौ २१ गते सकिँदै छ । उनलाई नै मन्त्रीमा निरन्तरता दिने हो भने सरकारले २० गतेअघि नै राष्ट्रियसभा सदस्यमा सिफारिस गर्नुपर्ने हुन्छ । त्यसो नभएमा अर्थमन्त्री खतिवडाले मन्त्री पद छोड्नु पर्ने हुन्छ ।

अर्थमन्त्रीको रुपमा अलोकप्रिय रहेका खतिवडालाई प्रधानमन्त्री ओलीले भने अझै निरन्तरता दिने तयारी गरिरहेका बेला गौतमको यो प्रसंग अगाडी आएको हो । प्रतिपक्ष मात्र होइन पार्टी वृतमा समेत खतिवडाको कम प्रति असन्तुष्टि रहेको छ ।

प्रधानमन्त्री ओलीले हालै एक टेलिभिजन अन्तवार्तामा गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी निर्णय च्याप्टर क्लोज भएको बताएका थिए । सो अन्तर्वार्ता पछि गौतम ओलीलाई भेटेर पार्टी निर्णय कार्यान्वय गर्न दबाब दिएका हुन् ।

नेकपामा लामो समयदेखि जारी विवाद कार्यदलमार्फत तत्कालका लागि समाधान भएको भनिएपनि गौतम भने सो कार्यदलप्रति नै आफ्नो असन्तुष्टि रहेको बैठकमा बताएका थिए ।

पार्टी विवाद मिलाउन आफूले ६ बुँदे सहमति प्रस्ताव अगाडि सारेको तर त्यसलाई महत्व नदिएर कार्यदल बनाइएकोमा गौतमले असन्तुष्टि व्यक्त गरेका थिए ।

गौतमको ६ बुँदे प्रस्तावपछि अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुको ओलीलाई हटाउने योजना तुहिएको थियो ।

अब गौतमको यो नयाँ अडानले नेकपामा पुन विवादको शृंखला शुरु हुनसक्ने देखिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेको र गौतम सरकारमा सामेल हुन खोजेको यो पछिल्लो घटनाक्रमबाट ओलीलाई आफ्नो चाहना अनुसार अगाडी बढ्नेमा अवरोध हुने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology