
१७ भदौ, बारा । पछिल्लो समय आत्म हत्याका घटनाहरु बढ्दै गएका छन् । आत्म हत्याका घटना नेपालमा मात्रै नभएर विश्व भरि नैं हुने गरेका छन् । त्यसो त कोरोना संक्रमण सँगै लकडाउनको अवधिमा पनि आत्म हत्याका घटनामा कमी आएको छैन । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि नेपाल सरकारले मुलुक लकडाउन गरेको अवस्था छ । यो विषम परिस्थितिमा बारा जिल्लामा पनि आत्महत्याको घटना बढ्दै गएको देखिन्छ ।
गत चैत्र ११ देखि अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको बिवरण अनुसार जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् ।
आत्म हत्या गर्नेमा बालबालिका देखि वृद्धासम्म रहेका छन् । विष सेवन गरेर ३ र झुन्डिएर ५१ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको बिवरणमा उल्लेख छ ।
झुन्डिएर आत्म हत्या गर्नेमा १० बालक १६ बालिका, १२ पुरुष र १३ महिला रहेका छन् । त्यस्तै दुई जना महिला र एक जना बालकले विष सेवन गरेर आत्म हत्या गरेका छन् ।
आत्म हत्याको एउटै कारण सबै व्यक्तिमा लागु हुन्छ भन्ने नुहने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
उनका अनुसार उदासिनता, रक्सी र अन्य लागु औषधको दुरुपयोग , दिर्घरोगी, मानसिक स्वास्थ्य समस्या, द्वन्द्व, घरेलु हिंसा, आफन्तको मृत्यु, गरिवी, बेरोजगारी, प्रेममा धोका, पढाईमा असफल जस्ता कारणले व्यक्ति आत्म हत्याको तहमा पुग्न गरेको देखिएको बताए ।
अहिले लकडाउनको समयमा वैदेशिक रोजगार, प्रविधि, समाजका अनेक समस्या झेल्न नसकेर आत्म हत्या बढिरहेको निष्कर्षमा पुगेका बेला समाज बन्द, आर्थिक संकट जस्ता कारणले गर्दा मानिसहरुले आत्म हत्याको बाटो रोजेको उनको भनाई छ ।
संसार भर बढी आत्म हत्या हुने मुलुकहरू मध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुष भन्दा महिलाले धेरै आत्म हत्या गर्ने गरेका छन् ।
आत्म हत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनी औसत आठ हजार ६ सय ४० जना मानिसले आत्म हत्या गर्ने गरेको एक तथ्यांकले देखाएको छ ।