राष्ट्रिय सभामा मनोनयन खतिवडा कि गौतम ?


  • Jaynepalnews
  • बिहिबार, भदौ १८, २०७७

१८ भदौ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबारका लागि बैठक निश्चित भएको हो ।

बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनउपर सचिवालयको बैठकमा छलफल हुने प्रमुख एजेन्डा रहेको छ ।

तर आजको सचिवालय बैठकको प्रमुख एजेन्डा नेकपामा पछिल्लो समय देखिएको राष्ट्रिय सभामा मनोनित गर्ने विषय बन्ने निश्चित रहेको छ ।

प्राविधिक रुपमा आजको बैठकले निर्णय गर्नै पर्ने भएको यो विषयमा उपाध्यक्ष बामदेव गौतमले आफु राष्ट्रिय सभामा जाने बताएपछि विवाद बढेको हो । वामदेवले यस अघि सचिवालयले गरेको निर्णय अनुसार आफुलाई राष्ट्रिय सभामा मनोनित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएपछि यो विषय पेचिलो बनेको हो ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा।युवराज खतिवडालाई नै मनोनित गर्ने तयारी गरिरहेका बेला वामदेवको यो दाबिले नेकपामा फेरी तरंग ल्याएको छ । अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरु पनि सचिवालयको निर्णय कार्यावन्यन गर्नुपर्ने पक्षमा रहेकाले प्रधानमन्त्री ओली थप दबाबमा परेको बुझिएको छ ।

बुधबार भएको ओली र प्रचण्डबीचको छलफलमा सचिवालय बैठक र राष्ट्रिय सभा सदस्यमा कसलाई पठाउने भन्नेमा केन्द्रित रहेको थियो । सो छलफलमा ओलीले खतिवडालाई नै निरन्तरता दिनुपर्ने अडान दोहोर्‍याएका थिए भने प्रचण्डले गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालय बैठकको पूर्ववत निर्णय लागू हुनुपर्ने अडान लिएका थिए ।

यसबीचमा बुधबार नेता गौतमलाई मनाउन प्रधानमन्त्री ओलीले प्रयास गरेको बताइएको छ ।

सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुनमा शपथ लिएका थिए । खतिवडाको संसद सदस्य पद फागुन २० गते सकिएको थियो । सरकारले भदौ २० सम्म उनलाई मनोनित नगरेमा आउदो शनिबार देखि उनको मन्त्री पद स्वत जाने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology