
१८ भदौ, काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक चार घण्टा पछि सरेको छ ।
विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि बिहीबार बिहान ११ बजेलाई बैठक तय गरिएपनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो । नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने तयारी छ । तर रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा समेत कसलाई पठाउने भन्ने नेकपामा एकमत हुन सकेको छैन ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अर्थमन्त्री डा।युवराज खतिवडालाई पठाउने पक्षमा छन् भने अन्य सचिवालयका बहुमत नेताहरु उपाध्यक्ष बामदेव गौतमलाई पठाउनुपर्ने अडानमा छन् । यस्तै, आजकै बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे पनि छलफल गर्ने एजेण्डा छ ।