कोरोना रोकथाम र उपचार प्रति सरकार अझै गम्भीर भएको छैन : प्रकाशशरण महत


  • Jaynepalnews
  • बिहिबार, भदौ १८, २०७७

१८ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाएको छ ।

काँग्रेसको कोभिड९१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले एक विज्ञप्ति जारी गर्दै देशको विभिन्न भागहरुमा लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुँवामा हुने गरेको उल्लेख गरेका छन् ।

डा. महतले तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो रहेको बताउदै कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको उल्लेख गरेका छन् ।

उनले सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नभएको भन्दै सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दै तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न माग गरेका छन् ।

डा।महतले जारी गरेको विज्ञप्ति

नेपाल सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर छैन । उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुँवामा हुने गरेका छन् । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन । कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने/नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।

नेपाली कांग्रेसको तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ वुँदे ध्यानाकर्षण सहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको थियो । तर सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन । हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं । साथै, तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गर्दछौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology