
१९ भदौ, बलेवा । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताए । रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् ।