विभाग गठनको ‘ब्याकफायर’, देउवा टिममै चुलियो असन्तुष्टी


  • Jaynepalnews
  • शनिबार, भदौ २०, २०७७

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनका लागि ६ महिना समय बाँकी रहँदा गठन गरिएका विभागहरु एकपछि अर्को गर्दै विवादित बन्दै गएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी विधान अनुसार ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागहरु महाधिवेशनका लागि ६ महिना बाँकी रहँदा गठन गरिरहेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले लिखित रुपमै राखेको असन्तुष्टीको वेवास्ता गरेपनि देउवालाई विभाग गठन नै प्रत्यूत्पादक हुने देखिएको छ ।

सभापति देउवाले महाधिवेशनको मुखमै विभाग गठन गरेर देशभरका हजारौंलाई पद बाँड्ने र आसन्न महाधिवेशनमा आफ्नो समर्थन बढाउने रणनीति अपनाएका छन् । तर अवैधानिकको आरोप लागेको विभाग गठनका कारण देउवा समूहभित्रै असन्तुष्टी चुलिएको छ । समूहभित्र लामो समय काम गरेका क्रियाशील नेता कार्यकर्ता भन्दा विभाग प्रमुखले खल्तीका मान्छेलाई अवसर दिंदा विभाग गठनले देउवा टिममै विवाद बढाएको हो । सभापति देउवासमक्ष दैनिकजसो टेलिफोन र प्रत्यक्ष रुपमा देशभरका सयौं नेताहरुले असुन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

विभाग गठनमा अर्को पक्षसंग सहमति नबनेपनि आफ्नै समूहभित्र एकलौटी विभाग बनाउँदा पनि न्यायोचित नभएको देउवा टिमका नेताहरुको गुनासो रहेको छ । विभागको नेतृत्वमा नरहेका देउवा निकट एक केन्द्रीय सदस्यले महाधिवेशन प्रभावित पार्ने मात्रै नभएर जिल्लाको राजनीति पनि बिगार्ने गरी जथाभावी पद बाँड्ने काम भएको बताए । “को सिनियर को जुनियर कुनै मतलब छैन । बुथबाट प्रतिनिधि आउने हैसियत नभएकाहरुलाई चाकडी गरेकै भरमा केन्द्रीय विभागमा राखिएको छ । यसले हाम्रै टिमका धेरै सिनियर साथीहरुको अपमान भएको छ ।”, ती केन्द्रीय सदस्यले जयनेपालन्यूजसंग भने ।

विभाग गठनका दौरान पार्टीमा गरेको योगदान, क्रियाशीलता , विज्ञता र अनुभवलाई प्राथमिकता दिनुपर्नेमा चाकडी गर्ने र पैसा बुझाउनेलाई पद बाँडिएको आरोप लागेको छ । कतिपय विभागमा कांग्रेसको सदस्यता नै नभएकाहरुलाई जिम्मेवारी दिईएको छ । विभाग गठनका दौरान पौडेल समूह छाडेकाहरुलाई उपप्रमुख वा सचिवको जिम्मेवारी दिइएकोमा पनि देउवा समूहमा असन्तुष्टी बढेको छ । “हिजो हाम्रै टिमलाई गाली गर्नेहरु आज हाम्रै टिमको नेता बनेर बधाई खाईरहेका छन् । नवप्रवेशीलाई हैसियतभन्दा बढी पद दिइएको छ यसले लामो समय शेरबहादुर दाईसंग जोडिएकाहरुलाई चित्त दुखेको छ ।”, देउवा निकट एक महासमिति सदस्यले भने ।

कांग्रेसमा हालै गठित विभागमध्ये वित्तीय तथा सहकारी विभागमा सचिव बनाइएका सुरेन्द्र भण्डारीले विभागका प्रमुख आनन्दप्रसाद ढुंगानालाई गाडी उपहार दिएको चर्चा छ । त्यस्तै भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय विभागको उपप्रमुख बनाइएका विष्णु धिताल बैकिंग कसुरमा सजाय पाएका व्यक्ति रहेको र सोही विभागका सदस्य मुकेश काफ्ले जनतामाझ अलोकप्रिय र लोडसेडिंग गराउने अधिकारीको रुपमा चर्चित रहेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले प्रचार विभागमा जुनियरलाई सदस्य बनाएकोदेखि कांग्रेसनिकट वरिष्ठ पत्रकारहरुलाई वेवास्ता गरेको आरोप लागेको छ । “विगतदेखि नै प्रेस युनियनआबद्ध वरिष्ठ पत्रकार र पदाधिकारीलाई कांग्रेसको प्रचार विभागमा समेट्ने परम्परा थियो तर विश्वप्रकाशजीले नेविसंघलाई अवसर दिनुभएको छ ।”, प्रेस युनियनका एक नेताले भने । प्रचार विभाग गठनबाट सभापतिमा देउवालाई जिताउन प्रचार संयन्त्रमै रहेर काम गरेका सबैजसो पत्रकार असन्तुष्ट रहेका छन् ।

पार्टीभित्र प्रभुत्व जमाउन गठन गरिएका विभागले कुनै तरक्की त गर्दैछैनन् । बरु उल्टै सभापति देउवालाई जिल्ला जिल्लाबाट फोन गरेर असन्तुष्टी व्यक्त गर्नेहरुको संख्या बढेको छ । जिल्लाको राजनीतिमा प्रभाव नभएका व्यक्तिलाई केन्द्रको विभागमा राख्दा स्थानीय राजनीतिमा असर पुगेको भन्दै एक दर्जन बढी कांग्रेस जिल्ला सभापतिले विचार पुर्याएर निर्णय गर्न देउवालाई चेतावनी नै दिइसकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology