
२२ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलबभत्ता रोक्न माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले कोरोना महामारीमा आमजनता जीवन मरणको लडाईमा रहेको बताउँदै राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने उनको माग छ । ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’ उनले प्रश्न समेत गरेका छन् ।
नेता नेता भट्टराईले पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो भन्दै अर्को प्रश्न पनि गरेका छन् ।
नेता भट्टराईले सरकारसँग विपन्न जनताका लागि राहतका कार्यक्रम ल्याउन गराउन आग्रह गर्दै भनेका छन्ः ‘सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद जिन्सी राहतको व्यवस्था गर्नुपर्यो, नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आ–आफ्ना व्यवसाय सञ्चालन गर्न दिनुपर्यो ।’