निषेधाज्ञाबारे नयाँ निर्णय लिन तीन जिल्लाका सीडीओहरु छलफलमा


  • Jaynepalnews
  • मङ्लबार, भदौ २३, २०७७

२३ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाबारे नयाँ निर्णय लिन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरु छलफलमा जुटेका छन् । सिडियोहरु गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिने तयारीमा रहेका छन् ।

छलफलमा सिडियोहरुसँगै उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायत सहभागी हुने बताइएको छ ।

यो छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक पनि बस्नेछ ।

अहिले आम स्तरबाट निषेधाज्ञाको विरोध शुरु भएकाले सरकार र स्थानीय प्रशासन निषेधाज्ञा खुकुलो बनाउने दबाबमा रहेको छ ।

दैनिक मजदुरी गरेर खाने श्रमिकदेखि व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरुले अब बन्द थेग्न नसक्ने बताउदै अब निषेधाज्ञा तोडिने चेतावनी दिन शुरु गरेका छन् ।

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले त विहिबारदेखि आफ्नो व्यवसाय खोल्न आफ्ना सदस्यलाई निर्देशन दिइसकेको छ ।

यस अघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा समेत निजी क्षेत्रका प्रतिनिधिहरुले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारीमा तीन जिल्ला प्रशासन र गृहमन्त्रालय लागेको बताइएको छ

कोरोनाको संक्रमण बढिरहेकाले निषेधाज्ञालाई जारी राखेर व्यवसायलाई कसरी खोल्ने भन्नेमा छलफल भइरहेको छ ।

उपत्यकामा निजि सवारी जोर विजोरमा खोल्ने र जनजीवन आंशिक रुपमा चलायमान बनाउने बारे छलफल भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology